विराटनगर । एलिट क्लब विराटनगरमा स्थानीय चुनावमा विजयी बनेका स्वतन्त्र उम्मेदवारहरू र त्यसबाट मुलुकले लिनुपर्ने शिक्षाका सन्दर्भमा जेठ २७ गते शुक्रबार विमर्श कार्यक्रम भएको छ ।
क्लबका पूर्व महासचिव दिनेशकुमार श्रेष्ठले यस पटकको सथानीय चुनावमा काठकाण्डौ, धरान, धनगढी लगायतका १३ स्थानमा पहिलो पदमा र चार स्थानमा दोस्रो पदमा विजयी भएको उल्लेख गर्दै स्वतन्त्र उम्मेदवारहरूको विजयले वैकल्पिक राजनीति गर्नेहरूलाई पनि चकित बनाएको उल्लेख गर्नु भयो । प्रस्तुतिका क्रममा उहाँले मूल राजनीतिक दलहरूले विगतको पाँच वर्षको अवधिमा जुन विकृतपूर्ण राजनीति गरे त्यसको प्रतिक्रिया स्वरूप युवा मतदाताले स्वतन्त्रलाई मतदान गरेको उल्लेख गर्नुभयो । कम खर्च गरेर पनि जनताको मुद्दा सही किसिमले उठाउन सके विश्वास जित्न सकिन्छ भन्ने शिक्षा स्वतन्त्रहरूको विजयबाट पाउन सकिन्छ, श्रेष्ठले भन्नु भयो ।
आफ्ना टिप्पणी प्रस्तुत गर्दै विराटनगर ११ मा स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मदवार बन्नु भएका सूचनाको अधिकारको अभियन्ता निर्मल तामाङले स्वतन्त्र उम्मेदवारलाई निर्वाचन कानूनमा धेरै ठाउँ निरुत्साहित गर्ने प्रबन्ध रहेको आफूले पाएको बताउँदै राजनीतिक दलहरूले सही ढङ्गले का मगर्न नसकेको, सुशासन र पारदर्शिता देखाउन नसकेको कारण आम नागरिकमा भएको असन्तुष्टी नै स्वतन्त्र उम्मेदवारहरूप्रति जनताको मत आकर्षित हुन गएको बताउनु भयो । उहाँले ३० वर्षे पञ्चायतले के ग¥यो भनेर प्रश्न गर्नेहरूले लोकतन्त्रको नाममा ३० वर्ष शासन गर्दा जनतालाई के दिए भन्ने प्रश्न नै अहिलेको मुख्य सवाल भएको बताउँदै स्वतन्त्र उम्मेदवारीलाई राजनीतिक दलविरूद्ध खबरदारीका रूपमा बुझ्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विराटनगर महानगरपालिकामा विवेकशील साझा पार्टीका तर्फबाट प्रमख पदका प्रत्यासी अमलेश कर्णले विराटनगरका मतदाताले स्वतन्त्र उम्मेदवारलाई महत्व नदिएको बैकल्पिक सोचमा त्यति प्रभावित नभएको अनुभव सुनाउनु भयो । उहाँले चुनावमा पैसाको खेल हुने गरेको बताउँदै प्रमुख पदमा उम्मेदवारी दिँदा भुनाव अवधिमा जम्मा ७९ हजार मात्र आफूले खर्च भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा क्लबका निवर्तमा अध्यक्ष डा भेषप्रसाद धमला सचेत युवाले नेताको पुच्छर निमोठेर सही बाटोमा हिँडाउन भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । पूर्वअध्यक्ष टीका उप्रेती नेपालका दल र नेताप्रति नै वितृष्णा बढिरहेको बताउँदै विदेशमा बसेका छोराछोरीले बुवाआमालाई स्वतन्त्रको पक्षमा मतदान गर्न दवाब दिएको प्रसङ्ग सुनाउनु भयो ।
प्रा.डा. मीनराज ढकाल र प्रा.डा. मेदिनीप्रसाद शर्माले नेपालको राजनीतिकमा विकृति बढी देखिएकोले नेपालको भविष्य के हुने र कसले उद्दार गर्ला भन्ने आम चासोको विषय भएकोले युवाहरूले सुधारका लागि दबाव दिनुपर्ने बताउनु भयो ।
क्लबका अध्यक्ष विश्वनाथ रिजालको अध्यक्षता र महासचिव यज्ञप्रसाद शर्माको सञ्चालनमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले दिएको सन्देश विषयको विमर्शमा सुशासन अभियन्ता उत्तम ढुङ्गेल, प्रमिल अधिकारी र स्वयम्भुनाथ कार्कीले विमर्शमा सहभागी भई विचार व्यक्त गर्नुभएको थियो । (एलिट)

