विराटनगर । एलिट क्लब विराटनगरको आयोजनामा संघीय संसदमा अर्थमन्त्री जनार्धन शर्माद्वारा प्रस्तुत आगामी वर्षको बजेटका सम्बन्धमा जेठ २० गते विमर्श भएको छ ।
क्लबका निवर्तमान अध्यक्ष डा. भेषप्रसाद धमलाको प्रस्तुतिपछि छलफल भएको थियो । प्रस्तुतिका क्रममा डा. धमलाले बजेट समग्र रूपमा संकटग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने दिशातर्फ उन्मुख रहेको बताउनु भयो । नेपाली अर्थतन्त्रको विविध पक्षको चर्चा गर्दै उहाँले कृषिमा सुधार नगरी अर्थतन्त्रको सुधार संभव नभएको विचार व्यक्त गर्दै बजेटले कृषि क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकता दिनु राम्रो पक्ष हो भन्नुभयो ।
लघु वित्तबारे पहिलो पटक बजेटले बोलेको चर्चा गर्दै उहाँले उच्च शिक्षा पढिरहेका विद्यार्थीलाई स्थानीय तहमा पठाउने, कृषकलाई पेन्सन दिने जस्ता नयाँ कुरा बजेटमा आएको उल्लेख गर्दै भन्नु भयो, ‘बजेट संरचनात्मक रुपान्तरणतिर उन्मुख भए पनि दीर्घकालीन सोच बिनाको पाएँ ।’
कार्यक्रममा पूर्व महासचिव प्रा.डा. अर्जुन बरालले पूर्वको आधारमा भन्दा अलैंची, चिया र अदुवा जस्ता कृषि उत्पादनलाई राष्ट्रिय नीतिको अङ्ग बनाएर प्रबद्र्धन गर्न नसके अर्थतन्त्रको विकास कल्पनाको विषय मात्र हुने बताउनु भयो ।
प्रा.डा. मीनराज ढकालले समयमा मल, बीउ नै व्यवस्था गर्न नसक्ने सरकारले हरित क्रान्तिको सपना पूरा गर्न नसक्ने बताउँदै नेपालले जैविक प्रविधिको विकासमा लाग्नुपर्ने सुझाव दिनुभयो ।
क्लबका अध्यक्ष विश्वनाथ रिजालको अध्यक्षतामा सम्पन्न बजेट विमर्श कार्यक्रममा प्रा.डा.मेदिनीप्रसाद शर्मा, पूर्वमहासचिव दिनेश श्रेष्ठ, सहकारी अभियन्ता रामचन्द्र गौतम, कृषक चिरञ्जीवी दाहाल र स्वयम्भुनाथ कार्कीले विचार व्यक्त गर्नुभएको थियो । (एलिट)

