नयाँ दलहरूप्रति बौद्धिक समुदायको अपेक्षा

विराटनगर । सम्पन्न आम निर्वाचनबाट उदायका दलहरूले मुलुक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अपेक्षा बौद्धिक समुदायको रहेको छ ।
विराटनगरका बौद्धिकहरूको संस्था एलिट क्लबमा मंसिर २३ गते शुक्रबार भएको छलफलमा अधिकांश वक्ताले सो धारणा व्यक्त गरेका हुन् । सम्पन्न आम निर्वाचन र नवोदित दलहरूको भूमिका विषयक विमर्श कार्यक्रममा विषय प्रस्तोता स्नातकोत्तर क्याम्पस विराटनगरको राजनीतिशास्त्र विभागका प्रमुख वरिष्ठ अधिवक्ता शान्तिराम भण्डारी हुनुहुन्थ्यो । भण्डारीले यसपटकको निर्वाचनमा पुरना पार्टीहरूले विगतमा गरेको गलत कामको विरुद्धमा जनताले मत जाहेर गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो‘जुनसुकै दलको किन नहोस सरकारमा पुगेपछि नयाँ वर्गको रूपमा देखापर्ने परिपाटीबाट वाक्क भएका जनताले प्रतिशोधको भावनाले नयाँ दलहरूको पक्षमा मतदान गरेको उहाँको निष्कर्ष थियो । ‘विना सिद्धान्त प्रतिशोधको आधारमा आएको मत दिगो चाही नहुने’ उहाँको धारणा थियो ।
भण्डारीले राजनीकि दलहरू गलत बाटोमा हिडिँरहँदा नागरिक समाजले प्रभावकारी रूपमा दवाब दिन नसकेको कारण जनतामा निराशा बढेको र दलहरू म्रमत्ता बनेको टिप्पणी गर्नुभयो ।
क्लबका निवर्तमान अध्यक्ष डा. भेषप्रसाद धमलाले सांसदको कार्यकाल थप गर्न सबै ठू्ला दलहरू लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले संसद सकिएको दिन नैे त्यस उप्रान्तको सेवा सुविधा नलिने घोषण गरेपछि बाध्य भएर ठूला दलहरू लत्रिएको उदाहरण दिँदै भन्नुभयो, यतिको संख्यामा उपस्थित नयाँ दल र स्वतन्त्र सांसदले निष्ठा पूर्वक सरकारको गलत कार्यको भण्डाफोर गर्ने हो भने ठूला र पुराना दललाई सच्चिन पर्याप्त दवाब पुग्ने बताउनु भयो ।
पूर्व महासचिव दिनेश श्रेष्ठले नयाँ दलहरूको उदय पुरानाका लागि खतराको घण्टी नै भएको बताउँदै उनीहरू नसुध्रिए भविष्यमा अझै कमजोर भएर जाने सम्भावना व्यक्त गर्नुभयो ।
प्रा.डा.मीनराज ढकालले पुराना पार्टीहरूको गलत क्रियाकलापले नयाँ पार्टी उदाएको तर्कमा सहमत हुँदै शेरबहादुर देउवा र रवि लामिछाने दुवै भारत र पश्चिमा शक्तिको रोजाइका पात्र भएकोले मुलुकको विकासमा खासै योगदान नहुने आरोप लगाउनु भयो ।
उपभोक्ता अधिकारकर्मी कृष्णभण्डारी मार्सेलीले नयाँ दल र स्वतन्त्र साँसदले संसदमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा जनताको रहेको बताउँदै नीतिगत भ्रष्टाचार रोक्न सके भने मात्र पनि जनताको मन जित्नसक्ने दावी गर्नुभयो ।
दल स्थापना गर्दा काङ्ग्रेस एमालेका नेताहरू पनि युवा वयमा नै रहेको चर्चा गर्दै सूचनाको अधिकारका अभियन्ता निर्मल तामाङले अहिले आएर नयाँ युगको संभावनालाई नदेख्ने अवस्थामा पुराना पार्टीका नेताहरू रहेकाले नै मुलुकमा नयाँ दलहरूको उदय भएको बताउनु भयो ।
समाजसेवी चिरञ्जीवी दाहालले मुलुकमा भष्टाचार अचाक्ली बढेर संस्थागत स्वरुपमा देखिएकाले नै नयाँ दलहरूको उदय भएको तर्क गर्दै उनीहरूले भ्रष्टाचारविरुद्ध लाग्न सके भने जनताको विश्वास जित्न सक्ने सम्भावना उल्लेख गर्नुभयो ।
क्लबका अध्यक्ष विश्वनाथ रिजालको अध्यक्षतामा भएको साप्ताहिक विमर्शमा क्लबका महासचिव यज्ञप्रसाद शर्माले विषयको सान्दर्भिकताबारे प्रकाश पार्दै सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष टकिा उप्रेती, प्रा.डा मेदनी शर्मा, पूर्वन्यायाधीश भीमेन्द्र बहादुर कार्की, युवा अभियन्ता पशुपति नेपाल, महिला अधिकारकर्मी प्रमिला थापा, उपप्राध्यापक मोहन सुवेदी लगायतले विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top